
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) कोशी प्रदेशको राजधानी विराटनगर आउँदैछन् ।
बुद्ध एयरको विमानमार्फत बिहान ९ः३० बजेतिर उनी विराटनगर आउने कार्यक्रम रहेको माओवादीले जनाएको छ । विराटनगरमा प्रचण्डका आज २ वटा कार्यक्रम छन् ।
उनले बिहान ११ बजेतिर विराटनगर महानगरपालिका–७ स्थित मोरङ उद्योग व्यापार संघमा हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सवको उद्घाटन गर्ने छन् । त्यस्तै, माओवादी केन्द्र विराटनगर महानगरको दोस्रो अधिवेशन दिउँसो १ बजेतिर उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
माओवादीको नगर अधिवेशन विराटनगर–४ स्थित शुभ ब्यान्केटमा आयोजनाको तयारी गरिएको छ । त्योबाहेक कार्यकर्ता भेटघाटको कार्यक्रम पनि रहेको माओवादीले जनाएको छ ।
विराटनगरमा हुने कार्यक्रममा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड आउने भएपछि बिहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ठाउँठाउँमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
























