
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानासाहका पक्षमा समाज विरोधी हर्कत भइरहेको बताएका छन् ।
राजावादीको आन्दोलनलाई लक्षित गर्दै तानासाहका पक्षमा समाज विरोधी हर्कत भइरहेको भन्दै त्यसलाई आन्दोलन भन्न नमिल्ने टिप्पणी उनले गरेका हुन् । विराटनगरमा आज (आइतबार) हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तानासाहका पक्षमा नियोजित ढंगले भइरहेको समाज विरोधी हर्कत अपराध भएको बताए ।
उनको राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका हुन् । ‘तानासाहका पक्षमा नियोजित ढंगले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न मिल्दैन,’ प्रचण्डले भने, ‘त्यो अपराध नै हो ।’ उनले ठूला दलप्रति जनतामा घृणा नभएको जिकिर गरे ।

स्ववियु निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट हुने उनको दाबी छ । प्रचण्डले संविधानका सबालमा भने समीक्षा गर्ने बेला भए बताउँदै मुलुकमा नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता देखिएको उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री मन्त्री भूपेन्द्र राई, पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोलेका उद्योगी व्यवसायीहरूले मञ्चहरू राजनीतिक भाषणमा मात्रै केन्द्रित भइरहेको गुनासो पोखेका छन् । उनीहरुले अबदेखि भाषणमा मात्रै नभएर आर्थिक विकासको पक्षमा पनि केन्द्रित हुनुपर्ने बताए ।
प्रचण्डले माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलन पनि उद्घाटन गरेका छन् । विराटनगर–४ स्थित शुभ ब्याङ्केटमा सम्मेलनको उद्घाटन गरेका हुन् । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सोमबार सम्पन्न गर्ने तयारी छ ।
तर, प्रचण्डले सम्मेलनको तयारी फितलो देखिएको भनेर असन्तुष्टि जनाए । सम्मेलनमा पार्टीका प्रतिनिधि मात्रै नभएर जनताको राम्रै उपस्थिति खोजेकोमा त्यस्तो नभएको उनको टिप्पणी थियो ।
पछिल्ला दिनहरुमा आफूले जहाँ टेक्यो त्यहीँ माओवादीले जितिरहेको बताउँदै प्रचण्डले कार्यक्रममा नेता कार्यकर्ता मात्रै नभएर जनताको उपस्थिति हुनुपर्नेमा जोड दिए । माओवादीले आफ्नो जनाधारका रुपमा उठाएका वर्ग समुदायसँगको सम्बन्ध टुटेको भन्दै उनले अब फेरि दह्रो गरी उनीहरूसँगको सम्बन्ध पुनःस्थापित गर्नुपर्ने बताए ।

माओवादीले अभियान चलाएपछि जनतासँगको सम्बन्ध पुनर्जीवित भएर उत्कर्षतिर गइरहेको दाबी प्रचण्डको थियो । ‘हजारौं–हजार पार्टी प्रवेशका कार्यक्रम भएका छन् । अब झन् नयाँ जागरण र लहर आउँदैछ,’ प्रचण्ड भन्छन् ।
विराटनगरमा दिनभर व्यस्त भएका प्रचण्ड आजै अपरान्ह काठमाडौं फर्किएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड विराटनगर आएर विभिन्न कार्यक्रममा सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
गणतन्त्र गम्भीर खतरामा पर्यो भनेर सोच्न आवश्यक छैन : प्रचण्ड
























