
विराटनगर । भोजपुरको अरुण गाउँपालिका–४ पूर्णटारस्थित स्यालघारी समुदायिक वनबाट फैलिएको आगोले स्थानीयको एक घरमा क्षति भएको छ ।
आज सोमबार ११:३० बजेटिर आगोले स्थानीय ९० वर्षीया इमादेबी सञ्जेलको बाँसको टाटीको बेरा, माटोले लिपेको र फुसको छानो भएको भएको घर नष्ट बनाएको हो ।
अस्थायी प्रहरी पोष्ट चरम्बीको टोली पुगेर घटनास्थलबारे जानकारी लिएको थियो । त्यस क्रममा घर पूर्ण रुपमा जलेर नष्ट भएको, घरभित्रका अन्न, कपडा लगायत धनमाल समेत जलेको पाइएको प्रहरीले जनाएको छ ।
धनमाल जोगाउने क्रममा सञ्जेलको हात, खुट्टालगायत शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।
यसैगरी, स्थानीय नवराज पराजुलीको घरमा पनि आगोले क्षति पुर्याएको छ । आगो फैलिएर क्षति हुने जोखिममा रहेका आसपासका ७ वटा घर जोगाउने प्रयास भइरहेको जनाइएको छ । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् ।























