
काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का पूर्वअध्यक्ष स्वः मनमोहन अधिकारीको आज २६ औँ स्मृति दिवस आज (शनिबार) परेको छ ।
स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहान ८ बजे प्रतिष्ठानको केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ । अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता थिए ।
अधिकारीको नेतृत्वमा एमालेले विक्रम संवत २०५१ मा ९ महिना सरकार चलाएको थियो । ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ जस्ता लोकप्रिय कार्यक्रमको सुरुवात अधिकारी नेतृत्वको तत्कालीन सरकारले गरेको हो ।
अधिकारी नेतृत्वकै सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले सुरु गरेका लोकप्रिय र सफल कार्यक्रमको चर्चा अहिले पनि उत्तिकै छ ।
लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयाघात भएर उपचारका क्रममा निधन भएको थियो ।
























