माओवादी केन्द्र विराटनगरको अधिवेशन : जनार्दन शर्मा समूहको उदय

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १९:३०

विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ समूहको प्यानलै विजयी भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई पाखा लगाउँदै महानगर कमिटीमा प्रभाकरको उदय भएको हो । अधिवेशनमा प्रभाकर समूह हाबी हुँदा महानगर अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनबाट उनले ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत ल्याइन् । राजवंशी यसअघि पार्टीको महानगर उपाध्यक्ष थिए । प्रतिस्पर्धामा उत्रिएकी न्यौपाने पूर्वसचिव हुन् । उपाध्यक्ष रहेका राजवंशी नेतृत्वमा पुग्दा न्यौपाने अध्यक्षको दौडबाट पराजित भइन् ।

माओवादीको महानगर उपाध्यक्षमा धर्मलाल राजवंशी ५८, सनोजकुमार यादव ४४ र चन्द्रबहादुर वन ३६ मत ल्याएर विजयी भए । उपाध्यक्षका प्रतिस्पर्धीहरु केमुना ओडारी (शारदा) ३३, शिवराज थन्दार ३३ र सरस्वती ओझाले २१ मत पाएका छन् ।

सचिवमा सोनु केवट ४२ ल्याएर निर्वाचिन हुँदा प्रतिस्पर्धी मोहमद अजामले ३६ मत पाउन सके । सहसचिवमा दिनेशकुमार कामत ३९ मत ल्याएर निर्वाचित भएका छन् भने सहसचिवका उम्मेदवारहरु भरत गिरी (गोसाइ)ले ३२ र चम्पा खत्रीले ७ मत पाएका थिए ।

कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । माओवादी केन्द्रको विधानमा कार्यसमिति सदस्यहरूले मतदानमार्फत अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रावधान छ । यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।

अधिवेशनमा ३ सय ५६ प्रतिनिधि सहभागी भएकोमा उनीहरु मध्येबाटै यसअघि ८१ सदस्यीय कार्यसमिति चयन गरिएको थियो । कार्यसमिति भित्रबाटै मतदान भएर ६ जना पदाधिकारी निर्वाचित भएका हुन् । ७ जना पदाधिकारीमा कोषाध्यक्ष सर्वसम्मत भएका थिए । माओवादी महानगरको ९९ सदस्यीय कार्यसमितिमा १८ जना पछि मनोनयन गरिने छ ।

निर्वाचनमा प्रचण्ड र प्रभाकर गुटबीच प्रतिस्पर्धा भएको थियो । दुवै पक्ष प्यानलै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए । गत आइतबार सुरु भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएका थिए ।

तर, सर्वसम्मत हुन नसकेपछि अधिवेशन नै स्थगित गरिएको थियो । माओवादी महानगरको नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदा माओवादीभित्र भिन्दै समूह चलाउने जमर्को गरिरहेका प्रभाकारको प्यानलै विजयी भएको छ । महानगर अधिवेशनबाट विराटनगरमा प्रभाकर समूह मजवुत बन्दै गएको प्रष्ट हुन्छ ।

मोरङमा पार्टीका जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा लिम्बूले प्रचण्ड समूहको नेतृत्व गरिरहँदा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य शिवकुमार मण्डलले प्रभाकर गुट चलाइरहेका छन् । विराटनगर अधिवेशनमा लिम्बूले न्यौपाने र मण्डलले राजवंशीको नेतृत्वमा प्यानल घोषणा गरेर अघि बढेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.