
काठमाडौं । राजसंस्थाको माग गर्दै आएका दल र समूह एकै ठाउँमा भेला भएका छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा रहेका दल र समूह सोमबार एउटै मञ्चमा भेला भएका हुन् ।
राजनीतिक एजेण्डा एउटै भए पनि फरक फरक पार्टीमा भएकाहरु राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा एकसाथ देखिए । उनीहरुले राजसंस्था पुनःस्थापना लागि आन्दाेलन गर्ने बताए ।
कमल थापासहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरु देखिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पक्षधरहरूले आग्रह पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने बताए ।
संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर अघि बढेको बताए ।
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले नेपालमा राजाको स्थान आवश्यक भएको दाबी गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर एक ढिक्का भएर अगाडि बढे राजसंस्था पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।
























