
काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न २३ जनालाई उच्च अदालत सुर्खेतले जन्मकैदको सजायको फैसला सदर गरेको छ ।
रुकुम पश्चिम जिल्ला अदालतले यसअघि घटनामा संलग्न २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैदको सजाय सदर गरेको हो ।
उच्च अदालतका उपन्यायाधिवक्ता प्रेमप्रकाश थापाका अनुसार, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा भने उच्चले सबैलाई सफाइ दिएको छ । जिल्ला अदालतले यसअघि जातीय भेदभाव सम्बन्धी कसुरमा दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान लिएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

























