
विराटनगर । नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले आगामी संसदीय निर्वाचनमा ताप्लेजुङबाटै उम्मेदवार बन्ने संकेत गरेका छन् ।
गृह जिल्ला ताप्लेजुङ पुगेका थेबेले सञ्चारकर्मीसँग कुराकानी गर्दै युवासंघको आगामी नेतृत्व नदोहो¥याउने र पार्टीले मूल्यांकन गरेर खटाएको ठाउँमा जाने बताए । ‘पार्टीले कुन ठाउँमा खटाउँछ, त्यहाँ जाने हो र रचनात्मक ढंगले काम गर्ने हो, म पनि त्यहिँ गर्छु,’ उनले भने, ‘मेरो जन्मस्थल ताप्लेजुङ नै हो । जन्मभूमिबाट राजनीति गर्नु अनौठो होइन ।’
आगामी जेष्ठ ९ देखि ११ गतेसम्म पोखरामा राष्ट्रिय महाधिवेशन हुँदैछ । यसै महाधिवेशबाट आफूले मार्ग प्रशस्त गर्ने उनले प्रष्ट पारे । आफ्नो दुई वर्षको कार्यकाल रचनात्मक र सफल भएको दाबी पनि गरे । अहिले पद लोलुपता धेरै बढेको बताएका उनले आफू त्यो पक्षमा नरहेको बताए ।
युवा संघमा नेतृत्व गर्ने क्षमता भएका युवाहरु धेरै भएकाले आफूले नाम लिने गरिको व्यक्ति कोही नभएको उनको भनाई थियो । अन्ततः जाने ठाउँ पार्टीमै भएकाले आफू पनि अब पार्टी राजनीतिमा जाने थेबेले बताए ।
























