
विराटनगर । सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका– ३ फुटानी चौकमा प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय असई खतिवडाको मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।
प्रहरीका अनुसार काेशी राजमार्गकाे इटहरी – विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको भ्यान अनियन्त्रित भइ सडक बारमा ठाेक्किएकाे थियाे । दुर्घटनामा खतिवडासँगै तिन जना घाइते भएका थिए ।
प्रहरीका अनुसार खतिवडाको टाउको र शरिरका अन्य भागमा चोट लागेको थियो । उनलाई उद्दार गरी विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । राेजिना उनकाे छाेरी हुन् । उनीहरुकाे अवस्था सामान्य छ ।

























