
विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। करिब ८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आएका फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर वैशाख २६ गते दुई फ्रान्सेली नागरिकले कञ्चनजंघाको आरोहण सुरु गरेका थिए ।
वैशाख २७ गते राति करिब ११ बजे, करिब ८ हजार मिटर उचाइमा पुगेपछि मोरिङको श्वासप्रश्वासमा समस्या देखिएको थियो । घटनाको जानकारी गाइड योगेन्द्र तामाङमार्फत प्रहरीले सोमबार मात्रै पाएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिए । उनीसँगै गएका अर्का एक फ्रान्सेली नागरिक भने सकुशल रहेको उनले बताए । महिलाको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ ।

























