
विराटनगर । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै खटपट नभएको बताएका छन् । विराटनगरमा आयाेजित कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस एमाले गठबन्धन बनेकाे १० महिना पुगेकाे उल्लेख गर्दै कुनै खटपट नभएको बताएका हुन् ।
‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ,’ उनले भने ।
लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे । उनले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न दिएको त्याग र बलिदान गरेकाले यो व्यवस्था परिवर्तन नहुने बताए ।
‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौ,’उनले भने,‘अब देश फेरि निरंकुशतातिर लानका लागि जनताले चाहादैनन् ।’
गृहमन्त्रीले आजै विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका हुन् ।
विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाइएको बताए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताए ।
























