
काठमाडौं । अन्तर्राष्ट्रिय परिवार दिवस आज (बिहीबार) परेको छ । ‘दिगो विकासका लागि परिवारमुखी नीति’ नाराका साथ दिवस मनाइँदै छ ।
प्रत्येक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने गरिन्छ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसांखिकीय प्रक्रियाहरूको ज्ञान बढाउने उद्देश्यसाथ यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम एवं उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेसँगै १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसको आधारमा सामाजिक विकास आयोगले विकास प्रक्रियामा परिवारको भूमिकासम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो । सन् १९८५ मे २९ मा परिषद्ले महासभामा ४१औं सत्रको अस्थायी एजेन्डामा ‘विकास प्रक्रियामा परिवारहरू’ शीर्षकको विषयवस्तु समावेश गर्न अनुरोध गरेको थियो ।
सामाजिक विकास आयोगको सिफारिसका आधारमा १९८९ डिसेम्बर ९ मा महासभाले अन्तर्राष्ट्रिय परिवार वर्षको घोषणा गरेको थियो । अन्ततः महासभाले सन् १९९३ देखि अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने घोषणा गरेको हो ।























