
विराटनगर । ‘लेखमा म वास्तविकता खोज्छु’ आफ्नै पुस्तकको समीक्ष गर्दै लेखक श्याम सिंघक मुस्कानसहित खुल्छन् ।
उनको अनुहारमा देखिएको आत्मविश्वास र सन्तुष्टि मात्रै होइन, लेखनप्रतिको गहिरो संवेदनशीलता पनि झल्किन्छ । उनको बुझाईमा साहित्य केबल रमझम मात्रै नभएर समाजकाे यथार्थ चित्रण गर्ने सशक्त माध्यम पनि हो ।
उनी कथाको एउटा पात्रमा मात्रै होइन । खेतका डिलमा भेटिने पातको हल्लाइमा, पानीको स्पर्श अनुभव गरेर कथा खोतल्न‘फिल्ड’मै पुग्न रुचाउँछन् । यथार्थको खोजीले नै होला सायद उनको लेखनशैली फरक भेटिन्छ, शब्दहरु जीवन्त भेटिन्छन् । जहाँ पाठकहरुले न केबल कथा पाउँछन्, बरु आफूलाई कतै न कतै भेट्न पनि सक्छन् ।
तेह्रथुममा किसान परिवारमा जन्मेका सिंघकले २०७५ सालदेखि लेखन यात्रा शुरू गरेका हुन् । तसलिमा नसरिनको लज्जा पढेपछि उपन्यास लेखनमा आकर्षित भएका उनी यसै शिलशिलामा पहिलो ‘दलिता’ उपन्यास लेखे । त्यसपछि २०७३ सालमा ‘रेमिटल्यान्ड’ उपन्यास ल्याए । करिब नौ वर्षको अन्तरालमा ‘कोइलाखाद’ लिएर पाठकमाझमा आएका छन् ।
रेमिटल्यान्ड सार्वजनिक गरेपछि एकवर्ष लेख्नै छोडेको प्रशंग हाँस्दै उनी सुनाउँछन् ।
‘रेमिटल्यान्ड पछि त्यसको ह्याङ मेट्न एक वर्ष त मैले काम नै गरिन,’हाँस्दै उनी भन्छन्,‘मलाई लेखमा पनि जीवन्त मन पर्छ, म खोला , पात ,पानी प्रकृतिमा भएको सबै कुराहरुलाई महसुस गर्न मन पराउँछु, मलाई फिल्डमा गएर नै काम गर्नु मनपर्छ । त्यहाँ कथा भेटिन्छ , अनि लेख्न पनि मज्जा आउँछ ।’
उनले कोइलाखाद पाठकसम्म ल्याइपुर्याउन भूगोल टाढा भएकाले पनि समय लागेको उनले बताए । ‘मलाई पूर्वोत्तर भारतको मेघालय र आसाम क्षेत्रको कोइलाखानीको सिंगो इतिहास लेख्न मन थियो,’ उनले भने,‘ त्यस क्षेत्रमा सन् १९७० देखि कोइला खन्न शुरू भएको हो । सन् २०१४ मा कोइलाखानी बन्द भयो , त्यहाँको सबै इतिहास लेख्न त्यस क्षेत्रका आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पाटा आउनुपर्छ भन्ने लागेको थियो। ’
सबै सूचना नभएकाले त्यहीं गएर जानकारी बटुल्न पनि समय लागेको उनको भनाई छ । कोइलाखाद उपन्यास लेख्न सात वर्ष लगोको उनले अनुभव सुनाए । तीन दशकअघिसम्म पूर्वी पहाडबाट कमाइका लागि कोइलाखाद जाने चलन खुब भएको र कति युवाहरु उतै घरजम गरेर पनि बस्ने गरेकाे किस्सा सुनेर पनि उपन्यासका लागि कोइलाखाद राेजेका हुन् । उनलाई लाग्छ ‘काेइलाखाद उपन्यास मात्रै हाेइन, दस्तावेज पनि हाे ।’
उसो त उनीसँगै हुर्किएका, एउटै आँगनमा खेलेका थुप्रै दौँतरीहरू कोइलाखानीतिर काम गर्न गएका थिए । कति त गाउँ फर्किएर आएनन् । त्यही विषयले पनि आफूलाई मनमा बिजेकाले यो विषय छनौट गरेकाे उनले बताए ।
‘गाउँघरमा कोइलाखाद गएर फर्किएकाले सुनाउने अनौठा किस्सा सुन्न पाइन्थ्यो, त्यहाँको सँस्कारबारे कुराकानी हुन्थे तर, त्यो बेला लेख्छु भन्ने लागेको थिएन,’ उनले भने,‘ पछि लेख्नलाई जाँगर चल्यो ।’
कोइलाखादमा धेरै पात्र भएपनि उपन्यासको मुख्य पात्र लोचनबहादुर लिम्बू काल्पनिक रहेको उनले बताए । उनी भन्छन्,‘रुथ त्यहाँको खासी जातिको मान्छे हो, त्यो पनि काल्पनिक पात्र हो । अरू सबै पात्र जस्ताको तस्तै राखेको छु।’
त्यसो त उनी कथालाई जीवन्त दिनका लागि मेघालय नै पुगे । त्यहाँको भूगोल र परिस्थिति मात्रै अध्ययन गरेनन्, थुप्रै पुस्तक पनि अध्धयन गरे । त्यसपछि उनले झन् रमाइला र अनौठा किस्सा भेट्ने अवसर पाए ।
मेघालयको मातृसत्तात्मक समाज, नेपालबाट गएका साथीहरूको दिनचर्या, त्यहाँ काम गर्ने प्रकृति र उनीहरूको जीवनपद्धती उनका लागि नौलो थियो । उनी भन्छन्,‘ पहिले लिम्बू समाजमा कुनै केटी मन पराएको छ भने तानेर ल्याउने चलन थियो । तर कोइलाखादतिर केटालाई तानेर ल्याउँदा रहेछन्।’
उनले कोइलाखाद लेखेर किताबको स्वरुप दिँदासम्म ४० पल्टसम्म पुनर्लेखन गरेको अनुभव पनि सुनाए । ‘च्यात्दै लेख्दै गर्दा झण्डै चार वर्ष वित्याे,’उनी भन्छन्,’ लेख्दा देख्दै कहिले कथा नबगे झैँ लाग्ने, कहिले के नमिले झैँ लाग्ने, धेरै कुरा निर्मम तरिकाले फ्याँके ।’
उपन्यासले कस्ताे प्रतिक्रिया पाउँछ भन्ने चिन्ता थियाे । तर अहिले न्याय पाएकाे छ । उनी भन्छन्,‘अहिले यो उपन्यासले न्याय पायो जस्तो लागेको छ , एकखाल्को आत्मसन्तुष्टि मिलेको छ ।’























