
काठमाडौं । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)का उपाध्यक्ष रवीन्द्र मिश्र हिरासत मुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै उनी ५० दिनपछि हिरासत मुक्त भएका हुन्
हिरासत मुक्त भएपछि उनले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मिश्रले घटनाको योजनामा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेका छन् ।
गत चैत्र १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
रिहा भइसकेपछि मिश्रले राज्य आफूविरुद्ध लागेको प्रष्ट भएको बताए । उनले आफूले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको स्वीकार गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि काम गरे पनि संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रव नगरेको उनको स्पष्टोक्ति थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो ।
























