
झापा । झापाको दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको आज (शनिबार) बिहान निधन भएको छ ।
दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । केही समययता मुटु र मिर्गौला रोगबाट पीडित बुढाथोकी विक्रम संवत २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेका उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्य थिए । उनको आज नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
निधनप्रति समवेदना व्यक्त गर्दै दमक नगर उपप्रमुख रेगना भट्टराईले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख बताइन् ।
























