सरकारको कार्यशैलीप्रति कांग्रेस सांसद असन्तुष्ट, गभर्नर नियुक्तिमा ढिलाइबारे चासो

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार १९:२८

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनीहरुले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको भन्दै आपत्ति जनाए । बैठकमा सहभागी अधिकांश सांसदहरूले सरकारमा रहेको गठबन्धनको प्रमुख घटकले कांग्रेसको सल्लाह र सुझावलाई बेवास्ता गर्दै निर्णय गरिरहेको गुनासो गरेका छन् ।

बैठकमा कांग्रेस सांसदहरूले गभर्नर नियुक्तिमा भएको ढिलाइका बारेमा चासो राखेका छन् । विभिन्न आयोग तथा निकायमा भइरहेका नियुक्तिमा देखिएको पक्षपात तथा बजेटको असन्तुलित वितरणजस्ता विषयलाई प्राथमिकताका साथ उनीहरुले उठाएका थिए ।

सांसदहरुले कांग्रेसलाई सरकारले उपेक्षा गरेको भान भएको र सत्ता साझेदारका रूपमा यथोचित सम्मान नभएको महसुस गराएका थिए । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा गभर्नर नियुक्तिको विषय, क्षेत्रगत रूपमा सन्तुलित बजेट वितरण र संयुक्त सरकारभित्र कांग्रेसको भूमिका सम्बन्धी विषयहरूमा विस्तृत छलफल भएको जानकारी दिए।

‘प्राविधिक कारणले गभर्नर नियुक्तिमा केही ढिलाइ भएको हो,’ उनले भने, ‘नेकपा (एमाले)ले कांग्रेसलाई अवसर दिन नचाहेको भन्ने कुरा सत्य होइन।’ घिमिरेले नेकपा (माओवादी केन्द्र)सँग कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको संवादलाई सामान्य राजनीतिक सम्पर्कको रूपमा व्याख्या गर्दै सरकार परिवर्तनको कुनै योजना नरहेको स्पष्ट पारे ।

उनले कांग्रेस सरकारमै रहने र माओवादीसँग नयाँ गठबन्धनतर्फ उन्मुख नहुने प्रष्ट पारेका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि बैठकमा सांसदहरूले हालको गठबन्धनमा कांग्रेसको आवाज सुन्ने वातावरण कमजोर भएको गुनासो राखेको बताए ।

‘जब २ ठूला दलको गठबन्धन चलिरहेको हुन्छ, त्यसबेला तेस्रो घटकको भनाइ ओझेलमा पर्न सक्छ भन्ने सांसदहरूको चिन्ता थियो,’ उनले भने। महतले कतिपय संवैधानिक तथा महत्वपूर्ण नियुक्तिमा भइरहेको ढिलाइले पार्टीभित्र असन्तोष बढाएको स्वीकार गरे ।

प्रवक्ता महतले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको संवादलाई सरकार परिवर्तनको संकेतको रूपमा नलिन आग्रह गरेका छन् । ‘त्यो सामान्य राजनीतिक छलफल हो । कांग्रेसले सरकार परिवर्तनको कुनै तयारी गरेको छैन र गर्दैन पनि,’ उनले भने ।

बैठकमा सरकारसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने र कांग्रेसको राजनीतिक हैसियतको सम्मान गरिनुपर्ने आवाज उठेको छ। सरकारभित्रको समन्वय र सत्ता साझेदारीको सन्तुलन कायमका विषयमा थप छलफल गरेर कांग्रेसले रणनीति बनाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.