
विराटनगर । खोटाङलाई तराईसँग जोड्ने वैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडक निर्माण सुरु भएको छ । भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आज (शनिबार) बराहपोखरी गाउँपालिका–३, लामाचौरमा विधिवत रुपमा सडकको ट्रयाक खोल्ने कामको शुभारम्भ गरेका हुन् ।
त्यस क्रममा मन्त्री राईले यो सडक खुलेपछि खोटाङलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग हुने र त्यसले खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
धाप्लाङघाटको पुल बनेपछि दिक्तेलसम्मको बाटो जोडिएर खोटाङलाई तराईसँग जोड्ने वैकल्पिक बाटो बनाउन थालिएको मन्त्री राईले बताए । आउँदो वर्ष सडक बनेर सञ्चालनमा आउने दाबी उनको छ ।
बीचमा पर्ने खोला, नदीमा बेलिब्रिज राखिने मन्त्री राईले बताए । यसका लागि बजेट व्यवस्थापन भइसकेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै वराहपोखरी गाउँपालिका अध्यक्ष बन्जाराले अहिले काम बढी र कुरा कम गर्ने बेला आएको बताए ।
फोक्सिङ्टार–धाप्लाङ्सम्म ९ किलोमिटर सडकको ट्रयाक खोल्न प्रदेश सरकारले गत वर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजन गरेको थियो । चालु आवका लागि विनियोजित बजेटमध्ये बराहपोखरी गाउँपालिकामा प्रदेश सरकारले वित्तीय हस्तान्तरणमार्फत ४५ लाख बजेट प्रदान गरेको छ । उक्त बजेटबाट गाउँपालिकाले उपभोक्ता समितिमार्फत ट्रयाक खोल्ने कार्य सुरु गरेको हो ।

























