
विराटनगर । मोरङको रतुवामाईमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल साँझ ६ः४० बजेतिर रतुवामाई–६ त्रिवेणी चोकमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका बेला मोटरसाइकल मृतकका छोरा २३ वर्षीय रमेश मेहताले चलाएका थिए । दुर्घटनामा आमाको मृत्यु भए पनि मोटरसाइकल चालक छोरा भने सकुशल रहेको प्रहरीले उल्लेख गरेको छ ।
रमेशलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























