
झापा । झापामा ३ वटा भारतीय कन्टेनरमा साढे ३ करोड बढीको भन्सार छलीका सामान फेला परेको छ । तस्करीका सामानसहित ३ वटा कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–५ बाट आइतबार साँझ भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा अवैध रूपमा भित्राइएका ३ करोड ६१ लाख रुपैयाँ बराबरको सामान फेला परेको हो । कन्टेनरसहित सामानलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

























