
काठमाडौं । विभिन्न प्रदेशमा गय रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराईका भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
निरन्तरको वर्षाले खोला तथा नदीमा जलसतह बढेको छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडी एवं अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आज (सोमबार) बिहान आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
विभिन्न प्रदेशमा वर्षा भने भइरहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ र
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेशलगायतका केही प्रदेशका तराईको भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार मेघगर्जन, चट्याङ, वर्षा, हिमपात र हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने छ ।

























