
काठमाडौं । पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडी एवं अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा कायमै रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका १–२ स्थानमा आज (मंगलबार) बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेश प्रदेशलगायत तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ, हावाहुरी र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

























