
विराटनगर । पछिल्लो ४ वर्षमा कोशी प्रदेशमा चट्याङका धेरै घटना भएको पाइएको छ । १४ वटा जिल्ला रहेको कोशीमा २०७८ साउनयता चट्याङका २ सय ९५ वटा घटना भएका छन् ।
घटनामा परेर ५१ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । ४ सय २० वटा पशु चौपाया मरेका छन् । ३ सय ६६ घर परिवार प्रभावित बनेको प्रहरीको तथ्यांकले देखाएको छ । चट्याङका कारण कोशीमा १ करोड ६० लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
पछिल्लो ४ वर्षमा देशभर १ हजार १ सय १८ वटा चट्याङका घटना भएका छन् । जसका कारण १ हजार ६ सय ७ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । घटनामा परेर देशभर २ सय ३७ जनाको मृत्यु भएको छ भने ९ सय ८ जना घाइते भएका छन् ।
प्राकृतिक विपत्मा पर्ने चट्याङले नेपालका विभिन्न भू–भागमा मानवीय एवं भौतिक क्षति बढाउँदै लगेको छ । पछिल्लो ४ वर्षमा सबैभन्दा धेरै घटना कोशी प्रदेशमा भएको हो । तर, क्षति भने लुम्बिनी प्रदेशमा धेरै छ ।
लुम्बिनीमा चट्याङका घटना सबैभन्दा कम भए पनि क्षति धेरै भएको हो । पछिल्लो ४ वर्षमा लुम्बिनीमा चट्याङका १ सय ८० वटा घटना हुँदा ५४ जनाको मृत्यु र १ सय ६५ जना घाइते भएका छन् । ९८ वटा चौपाया मरेका छन् । ३ करोड रूपैयाँ बढीको भौतिक क्षति भएको छ ।
चट्याङका कारण सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको मृत्यु भएको छ । चट्याङले कर्णालीमा २ सय ७, सुदूरपश्चिममा १ सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेशमा २८ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार कोशीको झापा, मधेशको धनुषा, बागमतीको मकवानपुर, कर्णालीको हुम्ला र सुदूरपश्चिमको कञ्चनपुरसम्म चट्याङको उच्च जोखिम देखिएको छ । नेपाल विश्वमा चट्याङजन्य विपत् जोखिमको दृष्टिले पाँचौं स्थानमा पर्छ ।
चट्याङले विशेषगरी बर्खायाममा कृषि कार्य, घाँसदाउरा तथा पशुपालनमा संलग्न सर्वसाधारणलाई निशाना बनाउने गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार घर, गोठ तथा अग्ला संरचनामा चट्याङ बढी पर्ने हुँदा ग्रामीण क्षेत्र यसको मुख्य मारमा परिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा जलवायु विज्ञ मदन सिग्देलले नेपालमा विपत्बाट हुने धनजनको क्षतिमा चट्याङ दोस्रो प्रमुख कारण बनेको जानकारी दिए । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङको जोखिम धेरै हुने उनको भनाइ छ ।
सिग्देलका अनुसार वायुमण्डलको अस्थिरता र भौगोलिक बनावटका कारण नेपालमा चट्याङ धेरै पर्छ । चट्याङ रोक्न नसकिने भए पनि सचेतनाका माध्यमबाट ८० प्रतिशत क्षति न्यूनीकरण गर्न सकिने उनले बताए ।
‘हामीले गरेका अध्ययनहरूले अधिकांश मानवीय क्षति खुला स्थानमा काम गर्ने क्रममा भएको देखिन्छ । बर्खायाममा मध्याह्नपछिको समय बढी जोखिमपूर्ण हुन्छ । त्यही बेला खेतमा काम गर्न, घाँस काट्न र गाईवस्तु चराउन गएकाहरुको ज्यान जाने गरेको पाइन्छ,’ सिग्देलले भने ।
चट्याङबारे १ घण्टा अघिनै सूचना दिन सक्षम राडार उपकरण उदयपुर, पाल्पा र सुर्खेतमा जडान गरिएको थियो । तर, ती अहिले बिग्रिएर थन्किएका छन् । ‘राडार मर्मत गरी सञ्चालनमा ल्याउन सके चट्याङको सम्भावना भएको क्षेत्रबारे पूर्वसूचना प्राप्त हुन्छ,’ सिग्देलले भने ।
राडारले बादल बन्ने प्रक्रियाको विश्लेषण गरी चट्याङको सम्भावित स्थान निर्धारण गर्न सक्छ । सिग्देलका अनुसार नयाँ संरचना बनाउँदा चट्याङबाट क्षति नहुने गरी वैज्ञानिक हिसाबले काम गर्नुपर्ने हुन्छ । साथै, वडा र टोलस्तरसम्म चट्याङबारे जनचेतना पुर्याउन आवश्यक रहेको उनको भनाइ छ ।

























