
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षकाे १० महिनामा १६ अर्ब ७२ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४७. ४ प्रतिशत हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । विनियोजन मध्ये चालु तर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको थियो । आर्थिक मामिला तथा याेजना मन्त्रालयका अनुसार १० महिनामा ६ अर्ब ८१ करोड ८७ लाख पूँजीगत खर्च भएकाे छ । साेही अवधिमा चालु खर्च ६ अर्ब ६९ करोड २४ लाख र स्थानीय तहलाई ३ अर्ब २१ करोड ७ लाख रुपैयाँ अनुदान हस्तान्त्रण भएकाे छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा प्रदेश सरकारले जम्मा १५ अर्ब ८८ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो । २०७९ /०८० को सोही अवधिमा सरकारले १९ अर्ब ७ लाख रुपैयाँ खर्च गरेको थियो ।
प्रदेशले १० महिनामा ३ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेकाे छ । आर्थिक वर्ष ४ अर्ब ९८ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य थियो । यो कुल लक्ष्यको ७५.५ प्रतिशत हो । १० महिनाकाे आम्दानी गत वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । गत वर्ष १० महिनाकाे अवधिमा प्रदेशले ३ अर्ब ३ करोड २५ लाख आन्तरिक आम्दानी गरेकाे आर्थिक मामिला तथा याेजना मन्त्रालयले जनाएकाे छ । १० महिनामा प्रदेश सरकारले राजस्व तर्फ १२ अर्ब ४८ करोड ४७ लाख र अनुदान तर्फ १० अर्ब ६५ करोड २० लाख आम्दानी गरेको छ ।

























