
विराटनगर । झापाको वनमा लामो समयदेखि बिरामी अवस्थामा रहेको जंगली हात्ती बुधबार मृत फेला परेको छ ।
बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा दिउँसो १ बजेतिर जंगली भाले हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मकुना (दाह्रा नभएको भाले हात्ती) अन्दाजी ५०–५५ वर्षजतिको भएको अनुमान छ ।
मकुना करिब २ महिनाअघि घाइते अवस्थामा भेटिएको थियो । ‘हामीले भेट्दा पछाडिको खुट्टा र पुच्छरमा संक्रमण थियो । २ पटकजति उपचार पनि गर्यो । अरु जंगली हात्तीसँग जुधेर घाइते भएको हुनसक्ने विज्ञहरुको अनुमान छ,’ श्रेष्ठले भने ।
उनका अनुसार घाइते अवस्थामा भेटिएको हात्ती सामान्य हिँडडुल गर्न मात्रै सक्थ्यो भने करिब २ महिनादेखि वरपरको वनमा बस्दै आएको थियो । ‘राम्रोसँग हिँडडुल गर्न सक्दैन थियो । धेरै टाढा जान सकेन । अहिले मृत फेला परेको छ,’ उनी भन्छन् ।
घटनाको जानकारी पाउनसाथ कोशी टप्पु वन्यजन्तु आरक्षका वन्यजन्तु प्राविधिक पुरुषोत्तम मुडभरी, डिभिजन वन कार्यालयका वन अधिकृत सुरज निरौला, प्राविधिक र पशु चिकित्सकसहितको टोलीले कानुनी प्रक्रिया पूरा गरेर हात्तीको पोस्टमार्टम गरेको थियो । पोस्टमार्टमपछि घटनास्थलनजिकै खाल्डो खनेर गाडिएको छ ।
‘पोस्टमार्टम गरेर नमुना संकलन गरिएको छ । त्यसको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आइसकेपछि मृत्युको कारण यकिन हुन्छ,’ डिभिजन प्रमुख श्रेष्ठले भने । उनका अनुसार हात्तीको मृत्यु प्राकृतिक नै भएको प्रारम्भिक अनुमान छ ।

























