
विराटनगर । विराटनगरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास बुधबार सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका–१६ रानीस्थित जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशस्तरीय एकीकृत कृत्रिम घटना अभ्यास (सेमुलेसन) सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्की थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको समन्वयमा कार्यक्रम भएको हो । कृत्रिम अभ्यासमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले संयुक्त रूपमा विपद् उद्धार र कृत्रिम घटना सम्बन्धी अभ्यास प्रदर्शन गरेका छन् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, मन्त्रालयका सचिव रामप्रसाद आचार्यसहित प्रदेशका सुरक्षा निकायका प्रमुख, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, स्काउटलगायतको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि एवं मुख्यमन्त्री कार्कीले विपद्मा उद्धारका निम्ति उल्लेख्य योगदान पुर्याउनेहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए ।
कोशी प्रदेश सरकारले प्रत्येक वर्ष विपद् उद्धारमा परिचालन हुने सुरक्षा निकायलाई निरन्तर रूपमा तालिम तथा अभ्यास गराउँदै आएको छ । मुख्यमन्त्री कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् ।
उनले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा भएको कमजोरी एवं त्रुटिले विपद् व्यवस्थानको ठूलो जोखिम निम्तिएको बताए । स्थानीय सरकार, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका लािग विपद् न्यूनीकरण चुनौतीपूर्ण रहेको कुरा विगतको ५–७ वर्षको अनुभवले देखाएको कार्कीको भनाइ छ ।
विपद्को समयमा जनताको जिउधनलाई प्राथमिकतामा राखेर जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै उनले उद्धार र राहतमा नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । कार्कीले नीति र कानुनको निर्माण गरेर विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै प्रदेश सरकारले सचेतनामूलक कार्यक्रम र साधन स्रोतको व्यवस्थापन गर्ने जानकारी दिए ।
आधुनिक प्रविधिसहित तालिमप्राप्त सुरक्षा जनशक्ति र स्थानीय तहको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रंगेलीमा कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र निर्माण गरिरहेको जानकारी मुख्यमन्त्री कार्कीले दिए ।


























