फाइल फाेटाेविराटनगर । मेची राजमार्गको पाँचथरमा हेंवा खोलामा बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि ठूला सवारी साधन आवागमनमा समस्या भएको छ । स्थानीय प्रशासनको पहलमा उक्त स्थानलाई मर्मत गरी आवागमन खुलाउने प्रयास भइरहेको छ ।
पाँचथरको हिलिहाङ र फिदिमलाई जोड्ने उक्त खोलामा डाइभर्सनका लागि लगाइएका चारवटा हृयुमपाइप बुधबार साँझको बाढीले क्षति पुर्याएको थियो ।
त्यसयता साना सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । मालसामान ढुवानी गर्ने र यात्रुबाहक ठूला साधन चल्न सकेका छैनन् । सडक डिभिजन कार्यालय इलामले स्काभेटर प्रयोग गरेर बाढीले वरपर सारेका हृयुम पाइप पुनः मर्मत गर्नुका साथै ढुङ्गा र काठ झिक्न थालेको छ ।
उक्त कार्यालयका कर्मचारी डम्मर मिश्रका अनुसार आज (बिहीबार) नै सवारी साधन चल्न सक्ने अवस्थाको बनाउने प्रयास भइरहेको छ । डाइभर्सन मर्मत गरिसकेर ठूला यात्रुबाहक र मालबाहक गाडी आवागमन खुलाइने उनले बताए ।
२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि मेची राजमार्गको हेवा खोलामा डाइभर्सन गरिएको थियो । यसपालि पनि बेलिब्रिज जडान गर्ने तयारी भइरहेको सडक डिभिजन इलामले जनाएको छ ।

























