
काठमाडौं । सहकारीबाट लिएको ऋण नतिरेपछि प्रहरीले नेकपा एमाले पेशागत विशेष प्रदेश कमिटीका सदस्य कृष्णकुमार अर्याललाई पक्राउ गरेको छ ।
काठमाडौंको सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।
२०८० असार २७ मा काठमाडौं जिल्ला अदालतले उनलाई रकम भुक्तानी गर्न आदेश गरेको थियो । तर अर्याल अटेर गरेर बसेका थिए । अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्यका साथै पर्यटन बोर्डको पूर्वसदस्य समेत हुन् ।























