
विराटनगर । लागुऔषध तथा मदिरा दुर्व्यसन नियन्त्रणका लागि जनचेतना फैलाउने उद्देश्यले मोरङको बूढीगंगामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत र्याली तथा कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।
बूढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको र्याली विभिन्न भाग परिक्रमा गरेपछि सभामा परिणत भएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रहरी कार्यालय मोरङ, स्थानीय तह, विराट टिचिङ अस्पताल लगायतका सरोकारवाला निकायहरुको सहकार्यमा कार्यक्रम गरिएको हो । र्यालीपछि विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सभाहलमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघ संस्थाका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक कोपिला चुडालले ‘लागूऔषध तथा मदिरा नियन्त्रण’ विषयक प्रस्तुति दिँदै यो समस्याको गम्भीर पक्ष, यसको सामाजिक प्रभाव र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी दिएकी थिइन्।
प्रहरी तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा कोशी प्रदेशमा लागुऔषध सम्बन्धी अपराधमा उल्लेख्य वृद्धि भएको देखिन्छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, गत वर्ष मात्रै प्रदेशभर लागूऔषधसम्बन्धी १ हजार १०५ मुद्दा दर्ता भएका थिए, जुन अवस्था चिन्ताजनक रहेको बताइएको छ।























