विराटनगरमा हितेन्द्रदेव शाक्य : ‘लोडसेडिङ छैन, हल्ला मात्रै हो’

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १९:३७

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकमा लोडसेडिङ नभएको बताएका छन् ।

लोडसेडिङ नभएको र हल्ला मात्रै चलाइएको उनको स्पष्टोक्ति छ । उनले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको दाबी गरे । विराटनगरमा बिहीबार आयोजित बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको बताए ।

विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने शाक्यको भनाइ छ । उनले मुलुकमा अहिले विद्युत अभावको समस्या नरहेको भन्दै ‘ट्रिपिङ’को समस्यालाई चाँडै नै समाधान गरिने बताए ।

शाक्यले विद्युत आपूर्तिको स्थितिमा बर्सेनि सुधार भइरहेको दाबीसमेत गरे । विश्वसनीय विद्युत आपूर्तिमा प्राधिकरणले ध्यान दिइरहेको शाक्यको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्र र उद्योगीहरुले सबैभन्दा बढी विद्युत उपभोग गरेर विद्युत प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्याएकाले सम्मान गर्ने नीति लिएको उल्लेख गरेको छ ।

यसैबीच, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले शाक्यसहित प्राधिकरणका उप–निर्देशक दीर्घायु श्रेष्ठ, प्राधिकरणका कोशी प्रदेश प्रमुख राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोज कुमार साहलाई संघमा स्वागत गरेका छन् ।

संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडालगायतले संयुक्त रुपमा स्वागत गरेका हुन् । उद्योगी व्यवसायीले प्राधिकरणको टोलीलाई मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्यूत समस्याहरु बारे अवगतसमेत गराएका छन् ।

कार्यक्रममा संघका सचिव अमित सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, प्राधिकरण विराटनगरका अधिकृतहरु, संघ तथा परिसंघका पदाधिकारी, कार्यसमिति सदस्य, संघका युवा र महिला उद्यम समिति संयोजक एवं सदस्यहरु, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख र प्रतिनिधिलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.