
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–७ यादव टोलमा २ पक्षबीच बिहीबार साँझ कुटाकुट भएको छ । घटनामा बालकसहित ३ जना घाइते भएका छन् ।
निर्मला यादवको भैँसी दिपेन यादवको मकैबारीमा पसेको विषयमा विवाद हुँदा २ पक्षबीच साँझ ७ः३० बजेतिर कुटाकुट भएको प्रहरीले जनाएको छ । सुरुमा निर्मला र दिपेनबीच विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि दोहोरो कुटाकुट भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । प्रहरीले घटनाको जानकारी राति ८ः४० बजेतिर मात्रै पाएको थियो ।
घटनामा ३२ वर्षीया निर्मला र उनका छोरा १० वर्षीय कुन्दन यादव तथा २४ वर्षीय दिपेन यादव घाइते भएका छन् । घाइतेमध्ये निर्मलाको अवस्था मध्यम र बालकसहित २ जनाको अवस्था सामान्य रहेको डीएसपी खतिवडाले बताए ।
निर्मला र उनका छोराको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दिपेनको स्थानीय मेडिकलमै उपचार गराइएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी खतिवडाले दिए ।























