आर्थिक अवस्थाले थेग्नेभन्दा बढी बजेटका योजनाले इटहरी उपमहानगर समस्यामा

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार २०:०५

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा आर्थिक अवस्थाले थेग्नेभन्दा बढी बजेटका योजना कार्यान्वयन प्रभावित भएको छ । आफ्नो आय स्रोतले नपुग्ने योजनाहरुका कारण भुक्तानीमा पनि समस्या भएको पाइएको छ ।

महानगरकी उपमेयर संगीताकुमार चौधरी नेतृत्वको राजश्व परामर्श समितिले आर्थिक वर्ष २०८१–८२ का लागि ४७ करोडको आन्तरिक स्रोत अनुमान गरेको थियो । त्यसैअनुसारका योजनाहरु तर्जुमा गर्नु पर्ने थियो ।

यसो भए पनि मेयर हेमकर्ण पौडेल संयोजकत्वको स्रोत अनुमान तथा निर्धारण समितिले त्यसलाई बेवास्ता गर्दा समस्या भएको हो । परामर्श समितिले बजेटअनुसार योजना तय गर्नुपर्ने सुझाव दिए पनि त्यसलाई नजरअन्दाज गर्दा समस्या भोग्नुपरेको कतिपय जनप्रतिनिधिहरुले बताएका छन् ।

मेयर नेतृत्वको समितिले ९५ करोड ३९ लाख ८० हजार रूपैयाँ आम्दानीको अनुमानसहित आर्थिक वर्ष २०८–र८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रूपैयाँको बजेट र कार्यक्रम सार्वजनिक गरेको थियो ।

उपमहानगरको राजश्व शाखाका प्रमुख सन्तोष ढकालका अनुसार जेठ ६ गतेसम्ममा उपमहानगरमा ३२ करोड ५ लाख ३५ हजार ६ सय २८ रूपैयाँमात्र आन्तरिक आम्दानी भएको छ । गत वर्षकै योजना र कार्यक्रमको २५ करोड रूपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने अवस्था रहेकामा नयाँ थप योजनाको भुक्तानी गर्न कठिन हुने देखिएको बताइएको छ ।

अघिल्लो वर्षका योजनाकै भुक्तानी दिन बाँकी रहेको अवस्थामा अरु योजनाको भुक्तानी कठिन देखिएको एक जनप्रतिनिधिले बताए । एक कर्मचारीका अनुसार दैनिक १ सयभन्दा बढी उपभोक्ता गत वर्षका योजनाको भुक्तानी माग्दै) आइरहेका छन् । तर रकम अभावका कारण भुक्तानी हुन भने सकेको छैन ।

मेयर पौडेल संघीय सरकारले सशर्त अनुदान गरेको कटौतीले बजेट घाटा भएको र त्यसकै कारण समस्या सिर्जना भएको दाबी गर्छन् । अहिलेलाई भुक्तानीको समस्या समाधान गर्ने प्रयास गर्ने भन्दै उनले अर्को वर्ष घाटा पूर्ति हुने गरी काम गर्ने बताए ।

उपमहानगरले अनुमान गरेको भन्दा आम्दानी निकै कम देखिएको छ । घर–जग्गा, सम्पत्ति करमा चार गुणा वृद्धि गरियो तर कार्यान्वयन हुन सकेन । चर्को विरोध भयो । उपमहानगर क्षेत्रको जग्गाको मूल्याङ्कन समेत बढाएर सम्पत्ति कर वृद्धि गरियो । यसले पनि आम्दानी सोचेजस्तो भएन । राजश्व महाशाखाका प्रमुख ढकाल आन्तरिक राजश्व वृद्धिका लागि माइकिङलगायतका प्रचार प्रसार गरेर पहल गरेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.