एमाले टाेलीकाे नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी आज चीन जाने

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार ०७:२५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन भ्रमणमा जाँदैछिन् । उनी नेकपा एमाले नेताहरु सहभागी टाेलीकाे नेतृत्व गर्दै आज राति चीन भ्रमणमा जाने भएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ । चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । याे भ्रमणका क्रममा जेठ १५ गते बिहीबार डुनहुङ शहरमा उच्चस्तरीय चिनियाँ नेतासँग भेट हुनेछ ।

भ्रमणमा भण्डारीबाहेक अन्य १४ व्यक्ति सहभागी हुँदैछन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उक्त टोली आइतबार बिहान ११ः५ बजे राजधानी बेइजिङमा अवतरण गर्नेछ ।

भ्रमणदलका सदस्य उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री रघुवीर महासेठ र कर्णबहादुर थापालाई विषय तोकेरै वक्ताका रुपमा राखिएको छ ।

मन्त्री भण्डारीले उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रमबारे मन्तव्य व्यक्त गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री रघुवीर महासेठले रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श शीर्षकमा मन्तव्य राख्ने भएका छन् । अर्का पूर्वमन्त्री कर्णबहादुर थापाले फरक फरक देशका नागरिकस्तरमा अनुभव आदान प्रदानलाई विस्तार गर्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ ।

यसबाहेक मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्ने कार्यक्रम तय भएको छ ।

भ्रमण दलका अर्का सहभागी सार्वजनिक सेवा प्रशारण (पिएबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्टले मंगलबार नै चाइना मिडिया ग्रुप (सीएमजी) का प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.