
विराटनगर । मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । उच्च अदालत विराटनगरको आदेशपछि दोस्रो पटक मतदान भएको हो ।
विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा जारी मतदानकाे समय बेलुका ५ बजेसम्म ताेकिएकाे छ । निर्वाचनमा ५ हजार ९८८ जना मतदाता छन् ।
मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा मतदान भएको थियो । निर्वाचन विवादित भएपछि मुद्दा अदालतमा पुगेको थियो । अदालतले पुन मतदान गर्नुपर्ने फैसला गरेपछि आज पुन मतदान भएको हो । निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालका अनुसार निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता छन् ।
पहिलो निर्वाचन विवादित भएका कारण शनिबार विहान ७ः१५ बाट सुरु भएको निर्वाचनको सुरक्षाका लागि एक सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान स्थलमा १२ वटा बुथ रहेका छन् ।
समितिको अध्यक्षमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईँ प्यानलै मैदानमा उत्रिएका छन् । भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । भट्टराई विनोद ढकाल समूहको उम्मेदवार हुन् । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् चापागाईँ नेपाली कांग्रेसको उम्मेदवार हुन् ।
गत वर्ष एमालेको आधिकारिक उम्मेदवारका विरुद्ध लागेको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । थापा अहिले एमालेको मोरङ उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।
२०८१ जेठ १९ गते भएकाे मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको थियो । गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको थियो । अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको थियाे । अर्थात उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान मात्रै पुनः गर्नुपर्ने भनेको थियो ।

























