
पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा १ नम्बर पार्टी बन्ने दाबी गरेका छन् । आज (शनिबार) पोखरामा भएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
त्यसका लागि माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न प्रचण्डले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।
आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको पूर्वप्रधानमन्त्री दाहालले बताए । चीन र भारतमा भएको भ्रमण र त्यहाँ गरिएका सम्झौताले दीर्घकालीन ढंगले विकास र समृद्धि आधार तय भएको उनले सुनाए ।
उनले संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए । ‘हामीले पहिलो संविधान सभा बनाउँदै भनेका थियौँ । जे जस्तो संविधान बनाउँदै छौँ, यसले देशमा स्थिरता दिँदैन । यसले देशमा आर्थिक ढंगले समृद्ध बनाउन सक्दैन’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम सबैको पहिचान र अधिकारको कुरा गरिसकेपछि यदी देशमा राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनैपर्छ भनेर भनेका थियौँ ।’
























