
धरान । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्ष दानाको व्यवसाय गर्छन् । १२ वर्ष भारतमा काम रेर फर्किएका उनले धरान उपमहानगरपालिका – १४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा पाँच वर्षदेखि रुद्राक्षको बिक्री गरिरहेका हुन् ।
भारतबाट फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गरेका थिए । उनी भन्छन्,“विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।”
रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याउँछन् । दानाबाट माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउछन् । उनका अनुसार, मासिक २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ ।
सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ । “आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ । दैनिक १–२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ । थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु ।” उनले भने ।
लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौ्र, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् ।
ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उहाँले २० देखि ५० सम्ममा माला, ढाकी ३०० देखि ५०० र रु एक हजार ५०० देखि तीन हजारसम्ममा झोला बिक्री गर्छन् ।
लामिछानेका अनुसार, रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ । “ एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन् । धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ ।” उनले भने ।

























