
काठमाडौं । सरकारले ल्याउन लागेको प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति निजामती कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । केही प्रावधानहरमा असहमति जनाएका उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा कर्मचारीहरुको असन्तुष्टि देखिएको छ । आन्दोलनका क्रममा उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको, र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै असन्तुष्ट बनेका कर्मचारीहरुले त्यसलाई सच्याउन माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालका अनुसार कर्मचारीहरूले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र १० वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने माग गरेका छन् । कटुवालले शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था कायम हुनुपर्नेमा जोड दिए । ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने कटुवालले चेतावनी दिएका छन् ।

























