गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न माग

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १४:३८

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गरेका छन् ।

यो माग गर्दै उनले प्रमुख सचेतक श्यामकुमार घिमिरेमार्फत संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाएका छन् ।

आज (आइतबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सांसद् बजगाईले गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेलाई कारबाही गर्न माग गरेको पत्र प्रमुख सचेतक घिमिरेलाई बुझाएका हुन् ।

सांसद बजगाईंले ‘पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने सम्बन्धमा’ शीर्षकमा लेखेको पत्रमा कांग्रेसका केही मन्त्रीहरूको कार्यशैलीले पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्‍याइरहेकोले पार्टीले समयमै कठोर निर्णय नलिए यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउने उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाउनु गृहमन्त्रीको नैतिक जिम्मेवारीमाथिको प्रश्न भएको बताएका छन् ।

‘गृहमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखकको सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो,’ बजगाईले पत्रमा लेखेका छन्, ‘यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानुनी प्रश्न हो।’

सांसद बजगाईले त्यस्तै, संस्कृतिमन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै हुने गर्दछ,’ बजगाईले पत्रमा लेखेका छन् ।

उनले पत्रमा पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.