
विराटनगर । विराटनगरबाट यति एयरलाइन्समार्फत काठमाडौं पठाएको सामान चोरी गर्ने नियतले फुटाइएको नेपाल सरकारका पूर्वउपसचिव प्रेमप्रसाद सञ्जेलले आरोप लगाएका छन् ।
जेठ १० गते यति एयरमार्फत पठाएको ५० हजार रुपैयाँ मूल्य बराबरको औषधि, लत्ताकपडा र अन्य उपभोग्य वस्तुहरूको कार्गो चोरी गर्ने उद्देश्यले कार्टुन फुटाइएको अवस्थामा काठमाण्डौ पुगेको भन्दै उनले आरोप लगाएका हुन् ।
आज (सोमबार) पत्रकार सम्मलेन आयोजना गर्दै सञ्जेलले बिजुलीको तारले कसेर बाँधेको दुईवटा कार्टुन तार काटेर च्यातिएको अवस्थामा काठमाडौं पुगेको बताए ।
साधारण कुरियरभन्दा जहाजमा छिटो र सुरक्षित पुग्ने विश्वासमा महँगो ढुवानी शुल्क तिरेर कार्गो पठाएको तर ढिलो पुगेको र कार्टुन च्यातिएको अवस्थामा आफन्तलाई बुझाइएको उनले बताए ।
यति एयरका कर्मचारीहरूले चोरी गर्ने नियतले तारले बाँधेको कार्टुन समेत फोडेको तर पछि आफ्नो नाम देखेर डरले फेरि सामान च्यातिएकै कार्टुनमा राखेर काठमाडौं पठाएको उनको आरोप छ ।
सञ्जेलले सुरक्षित रुपमा सामानको अवस्थाबारे प्रश्न उठेकोले सरोकारवाला निकायलाई थप सचेत र जिम्मेवार बनाउन घटना पत्रकार सम्मेलन गर्नु परेको बताए । यति एयर लाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले भने ठूलो विषय नरहेको बताए । उनले १४ किलो तौल भएको समानले अरु सामानले थिच्दा फुटेको तर कर्मचारीको गलत नियत नभएको बताए ।
‘काठमाडौं जाँदा उहाँको समान मात्रै राख्ने कुरा भएन, भारी तौलले कार्टुन फुट्यो, ’ उनले भने, ‘काठमाडौंमा उहाँको समान बुझ्ने मान्छेले भेरिफाइ गरेर कार्टुन फुटेको रहेछ, सामान हाराएको छैन भनेर बुझ्नु भएको हो ।’
कर्मचारीले जानजानी नभएर अन्जानमा भएको बताउँदै उनले भने, ‘समान हराएको भए यति एयर जिम्मेवारी हन्थ्यो कार्टुनका साइडमा फुटेको मात्रै छ त्यसैले यो अन्जानमा भएको हो, जानेर होइन ।’

























