
काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ ।
वायुको प्रभावका कारण मौसम बदली र वर्षा हुने क्रम जारी छ। देशका विभिन्न स्थानमा आज (मंगलबार) दिउँसो र राति वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ। पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने सम्भावना छ ।
मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ ।

























