
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
बज्रवाराही गोपाली गाउँबाट ठाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले आफैं अनियन्त्रित भएर सडकमा हिँडिरहेका ७ जनालाई ठक्कर दिएको थियो । नेपाल विद्युत् प्राधिकरण नजिकै दुर्घटना भएको हो ।
दुर्घटनाको कारण खुलेको छैन । यद्यपि, प्रहरीले ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । प्रहरीका अनुसार बसको ठक्करबाट अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र सिराहाको औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको हो ।
मृतक बलामी र ठाकुरको ठेगाना खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकाहरुको उपचार जारी छ । बस र चालक थाहा–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























