फाइल फाेटाेविराटनगर । झापामा गाईवस्तु बाँध्ने ग्वालीमा आगलागी हुँदा १ जना घाइते भएका छन् । बाह्रदशी गाउँपालिका–५ घोडामारका अन्दाजी ५० वर्षीय विष्णु ओझा घाइते भएका हुन् ।
ओझाको घरनजिकै रहेको ग्वालीमा आज (मंगलबार) बिहान ४ बजेतिर आगलागी भएको थियो । ग्वालीको चुल्होमा खोले पकाएर ननिभाइकन छाडेको आगो ग्वालीमा सल्किएको पाइएको प्रहरीले जनाएको छ ।
स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीबाट विद्युतको मोटर र कुटी काट्ने मेसिन जल्नुका साथै ग्वाली र काठपात पूर्णरूपमा ध्वस्त भएको छ । जलेर गाईका २ वटा बाच्छासमेत मरेको जानकारी प्रहरीले दिएको छ ।
घटनामा अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा ग्वालीका धनी ओझा घाइते भएका हुन् । आगोले उनको ढाड र हातमा पोलेको छ ।
सामान्य अवस्थाका ओझाको बिर्तामोडस्थित बिर्ता सीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

























