
विराटनगर । राष्ट्रिय सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक गोपी अछामीले नेपालको राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको बताएका छन् ।
विराटनगरमा आज (मंगलबार) सहिद कृष्ण इच्छुक सेनको २३औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थतन्त्र कमजोर भएसँगै नेताहरूको कार्यशैलीमा आम नागरिक निराश भएको अछामीले बताए ।
‘युवा जनशक्ति विदेशिँदै गएका छन्, कृषिमा आत्मनिर्भर बन्न सक्ने अवस्था छैन’, उनले भने, ूतर सोच, दृष्टिकोण र इमान्दार नेतृत्वले यो अवस्था सुधार गर्न सकिन्छ । हामी सबैमा नेतृत्व क्षमता छ ।’
उनका अनुसार राजनीतिक परिवर्तनको भावना बोकेको जनताले सकारात्मक नेतृत्व खोजिरहेका छन् । ‘परिवर्तन विरोधीहरू संगठित छन्, गुमेको सत्ता फिर्ता लिन चाहन्छन्। यस्तो अवस्थामा सचेत र छलफल गर्नुपर्छ’ उनले भने ।
उनले वर्तमान राजनीतिक प्रणालीमा बसेकाहरूको कार्यशैली परिवर्तन हुनु जरुरी रहेको बताए । सत्तामा बस्नेहरूको दिनहुँका क्रियाकलापले राजनीतिप्रति विश्वास घट्दै गएको उनको भनाइ थियो ।
ू३८ वटा कानुन अझै निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै नेता अछामीले संविधानमा सुनिश्चित अधिकार कार्यान्वयनका लागि छलफल र बहस भइरहेको बताए ।
प्रदेश सरकारप्रति भने जनताको विश्वास रहेको उनले दाबी गरेका उनले हालै सातवटै प्रदेशमा अन्तरतह संवाद कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।
‘हामीले सरकारलाई सुझाव दिएका छौं र राष्ट्रिय सभामा ती विषयमा गम्भीर छलफल गरेका छौं’ उनले भने ।
























