
काठमाडौं । विपक्षीहरुको अवरोधका कारण सञ्चालन हुन नसकेको प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
आज (मंगलबार) बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो साढे २ बजेसम्मका लागि स्थगित भएको थियो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएका छन् । बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।

























