
काठमाडौं । विपक्षी राजनीतिक दलका विद्यार्थी तथा युवा संगठनका नेता कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे ।
अखिल (क्रान्तिकारी), अखिल (समाजवादीं), अनेरास्ववियु, युवासंघ नेपाल, वाइसिएल र युवासंगठन नेपाल लगायतका संगठनले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुद्ध नारा लगाएका थिए ।
सरकार मानव तस्करहरूको संरक्षणमा लागेको, भिजिट भिसाको नाममा नेपाली युवालाई विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप विद्यार्थी नेताहरुले लगाए ।
विरोध गर्ने विद्यार्थी संगठनहरूले गृहमन्त्री लेखकले पदमै रहँदा अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै तत्काल राजीनामाको माग गरेका छन् ।
उनीहरूले संगठित रूपमा भइरहेको मानव बेचबिखन र त्यसमाथि सरकारकै संलग्नता गम्भीर विषय भएको भन्दै छानबिन निष्पक्ष र निष्कर्षसम्म पुर्याउन जोड दिएका छन् ।
























