
विराटनगर । कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा बुधबार अपरान्ह स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।
हेयर्ड नेपाल नामक संस्थाको विराटनगरका कर्मचारी बोकेर धरानबाट संखुवासभातर्फ जाँदै गरेको को १ च ६६४० नम्बरको स्कोरपिओ अपरान्ह १२ः२० बजेतिर दुर्घटनामा परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर चालक सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, मोरङको विराटनगर महानगरपालिका–३ की ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगरकै २३ वर्षीया निर्मला गुर्वाजु र उर्लाबारी नगरपालिका–१ की ३० वर्षीया ज्ञानु गौतम घाइते भएका छन् ।
घाइतेमध्ये परियारको अवस्था गम्भीर छ । स्कोरपिओका चालक यादव र विराटनगरकी अधिकारीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अरु २ जनाको अवस्था सामान्य छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
‘ब्रेक फेल’ भएर गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इन्स्पेक्टर श्रेष्ठका अनुसार सडकबाट गाडी करिब ५० मिटर तल खसेको थियो । गाडीमा हेयर्ड नेपाल नामक संस्थाको विराटनगरका कर्मचारी सवार रहेको र घटनाको थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























