
काठमाडौं । राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लागेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै राम्रो सन्देश गइरहेको छैन,’ उनले भने, ‘अध्यागमनमा भर्खरै ठूलो मानव तस्करीको घटना घट्यो । यसमा गृहमन्त्री आफैं मुछिएको घटना बाहिर आएको छ, उहाँले राजीनामा दिएर अनुसन्धानको लागि मार्गप्रशस्त गर्नुपर्छ ।’
सांसद अछामीले भ्रष्टाचारी जोसुकै भए पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने माग गरे । प्रतिनिधिसभामा विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन् । उनीहरुले संसद बैठक दुई दिनदेखि अवरोध गर्दै आएका छन्। राजीनामा नदिएसम्म संसद चल्न नदिने उनीहरुको अडान छ ।
























