
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा निहत्था नागरिकमाथि प्रहरीले गोली हानेको घटनालाई सामसुम पार्ने प्रयास भइरहेको छ ।
घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको भूमिकामा समेत गम्भीर प्रश्न उठेको छ । तस्करको बिल्ला भिराएर निहत्था नागरिकमाथि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको टोलीले गोली हानेको गम्भीर घटनामा आयोग अहिलेसम्म बेखबरजस्तै छ । घटनाको जानकारी पाएर पनि शंकास्पद भूमिका निर्वाह गरिरहेको उसले स्थलगत अनुगमन गरेर वास्तविकता पत्ता लगाउनसमेत आवश्यक ठानेको छैन ।
मानव अधिकार आयोगलगायतका सरोकारवाला निकायले बेवास्ता गर्दा तथ्य तोडमोड गरेर घटनालाई सामसुम पार्ने प्रयास भइरहेको गुनासो बढेको छ । राज्य वा कुनै पक्षबाट दमन भएर नागरिक पीडित हुँदा तत्काल आयोग ‘एक्सन’मा जानुपर्ने हो । तर, स्थलगत अनुगमन गरेर छानबिन एवं अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन भूमिका खेल्नुपर्ने आयोग बेवास्ता गरेर बसिरहेको छ ।
सादा पोसाकका प्रहरीले शनिबार साँझ गोली चलाउँदा बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका थिए । उनको दाहिने घुँडादेखि तल पिँडुलामा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइयो । अस्पतालले डिस्चार्ज दिएपछि अहिले घरमै आराम गरिरहेका छन् ।

घाउ निको भएपछि सम्पर्कमा आउनु भनेर प्रहरीले पठाएको छ । वडा सदस्य ध्वजवीर लिम्बूका अनुसार सामान्य आर्थिक अवस्था र ज्यालामजुरी गरेर जीविका चलाउँदै आएका रामप्रसाद जंगलमा च्याउ खोज्न गएका थिए ।
घरतर्फ आउँदै गर्दा कालिन्द्र सामुदायिक वनमा प्रहरीले हानेको गोली उनलाई लागेको थियो । ‘रामप्रसाद घर फर्किदै रहेछन् । जंगलबाट निस्किँदै गर्दा अरु अपरिचित ४–५ जना युवाहरु पनि त्यहाँ भेटिएछन् । सादा पोसाकका प्रहरी बाटो ढुकेर बसेका रहेछन्,’ वडा सदस्य ध्वजवीर लिम्बू भन्छन्, ‘त्रिपक्षीय भेट भएपछि सादा पोसाकमा रहेका प्रहरीले रोक्न खोज्दा ती युवाहरु भागेछन् । नियन्त्रणमा लिने नाममा प्रहरीले अचानक गोली चलाएछ । घटनामा निहत्था रामप्रसाद घाइते हुन पुगे ।’
उनका अनुसार परिवारको गुजाराका लागि ज्यालामजुरी गर्ने रामप्रसाद कुनै अवैध गतिविधि र कानुनविपरीतका काममा संलग्न रहेको थाहा छैन । प्रहरीको दाबी अनुसार गाँजा ओसारपसार भइरहेको सूचना आएपछि नियन्त्रणमा लिन गएको टोलीलाई देखेर एउटा समूह भागेको थियो ।
त्यो समूहलाई पक्राउ गर्ने प्रयास हुँदै गर्दा रामप्रसादले खुकुरीले प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको दाबी प्रहरीको छ । तर, रामप्रसादले भने आफूसँग खुकुरीलगायतका कुनै पनि हतियार नरहेको बताएको वडा सदस्य ध्वजवीर बताउँछन् । घटनापछि महेन्द्रनगर प्रहरी विवादमा तानिएको छ ।
घटनापछि स्थानीय र जनप्रतिनिधिले भने ‘काम देखाउने हतारो’को परिणाम भनेर प्रहरीको विरोध गरिरहेका छन् । निहत्था र निरपराध व्यक्तिलाई गोली हानिएको भनेर प्रहरीको चौतर्फी आलोचना भइरहेको छ । प्रहरीले घटनास्थलबाट खुकुरी, रुख काट्ने आरा, खन्तीसमेत बरामद गरिएको जनाएको छ ।
वडा सदस्य ध्वजवीरका अनुसार गोली लाग्दा रामप्रसादको साथमा एउटा प्लाष्टिकको झोला मात्रै थियो । तर, खुकुरी हान्न खोजेकाले आत्मरक्षाका लागि गोली चलाउनु परेको गलत दाबी प्रहरीले गरिरहेको उनले बताए । प्रहरीले गाँजा तस्करीको कुरा गरे पनि घटनास्थलबाट त्यसको कुनै प्रमाण फेला पार्न भने सकेको छैन । अहिले आएर प्रहरीले रामप्रसादलाई खुकुरी आफ्नै रहेको भन्न दबाब दिइरहेको ध्वजवीर बताउँछन् ।
यति गम्भीर घटनामा मानव अधिकार आयोगले कुनै चासो राखेको छैन । प्रहरीको माथिल्लो निकायले पनि आन्तरिक छानबिन एवं अनुसन्धान नगरेको पाइएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी गर्न गएको प्रहरी टोलीमाथि नै खुकुरी प्रहार गर्न खोजिएपछि आत्मरक्षाका लागि गोली चलाइएको दाबी गर्छन् ।
‘मिडियामा धेरै विषय आइरहेका छन् । त्यो सत्य हैन । हामीले ‘प्रेस रिलिज’मा तस्करीको कुरा गरेकै छैनौं,’ उनी भन्छन्, ‘खुकुरी प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य सामान बरामद गरिएको छ । घटना भएको केही समयपछि धरानबाट ८० किलो गाँजासहित मानिस पक्राउ गरिएको छ ।’ त्यो घटनाले पनि गाँजा तस्करीको सूचना सही थियो भनेर प्रष्ट हुने दाबी डीआईजी कार्कीको छ ।
उनले प्रहरीबाट घटनाको आन्तरिक छानबिन एवं कारबाही गर्नुपर्ने आधार नदेखिएको बताए । ‘प्रहरीले सही हिसाबले काम गरेको हाम्रो निष्कर्ष छ । थप कुरा सुनसरी प्रहरीकै प्रवक्तासँग बुझ्नु होला,’ कार्कीले भने ।
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख वीरबहादुर बुढामगर अहिलेसम्म घटनाका बारेमा आयोगलाई कुनै जानकारी नभएको बताउँछन् । तर, घटनाको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । मिडियामा घटना छरपस्ट हुँदा पनि जानकारी छैन भनेर आयोगले पन्छिन खोज्नु चैं आश्चर्यजनक एवं शंकास्पद विषय भएको सरोकारवाला बताउँछन् ।

‘उजुरी नपरेकाले हामीलाई जानकारी नै थिएन । उजुरी नपरिकन अनुसन्धान गर्दैनौं,’ आयोगका सहसचिवसमेत रहेका बुढामगर भन्छन् । ढिलै भए पनि जानकारीमा आएकाले घटनाका बारेमा बुझ्न लगाइएको उनले बताए । घटनाको अनुसन्धान होस् भनेर चाहन्छन् भने पीडितले उजुरी दिनुपर्ने उनले बताए ।
‘आयोगलाई आवश्यक लाग्यो भने स्थलगत अनुगमन गर्छ । त्यो घटनामा धेरै संख्यामा पीडित भएजस्तो छैन । हामी प्रक्रियागत हिसाबले काम गर्छौं । तत्कालै ‘रिजल्ट’ खोजेर हुँदैन,’ उनले भने । घटना ‘नोटिस’मा आएकाले के गर्न सकिन्छ भनेर बुझ्न भने लगाइएको बुढामगरले बताए ।
आयोगका प्रदेश प्रमुखले संवैधानिक अधिकार र भूमिकालाई बिर्सिएर दिएको जवाफप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । आयोगका पूर्वप्रदेश प्रमुख एवं अधिवक्ता कोषराज न्यौपाने कुनै पनि घटना जानकारीमा आउनसाथ छानबिन एवं अनुसन्धान गर्न आयोगमा उजुरी परिरहन नपर्ने बताउँछन् । ‘सुरुमा त आयोगले स्थलगत अनुगमन गर्नु पर्यो । आवश्यक देखेमा थप अनुसन्धान गर्न सक्छ । तर, वास्तविकता के रहेछ भनेर पत्ता लगाउने प्रयास चैं हुनुपर्छ,’ न्यौपानेले बताए ।
उनका अनुसार पीडित पक्ष र सरोकारवालासँग सोधपुछ गरेर घटनाको पृष्ठभूमि हेर्दै यथार्थ पत्ता लगाएर थप कारबाही आयोगले अघि बढाउनुपर्ने हुन्छ । आफ्नो संवैधानिक अधिकार र कर्तव्य बिर्सिएर गैरजिम्मेवार ढंगबाट प्रस्तुत हुँदा समाजमा आयोगका बारेमा राम्रो सन्देश नजाने उनको भनाइ छ । न्यौपानेका अनुसार संविधान र ऐनले दिएको अधिकार प्रयोग गरेर स्वयं जानकारीमा लिइ पीडित परिवारलाई भेट्ने, घटनास्थलमा जाने, प्रत्यक्षदर्शी एवं स्थानीय नागरिकसँग कुरा गर्दै थप बुझनुपर्ने कुरामा ध्यान दिनु आयोगको दायित्व हो ।
‘सबैभन्दा पहिले पीडितसँग भेटेर उनीहरुका कुरा बुझ्नु पर्यो । घटनामा संलग्नहरु भनिएकासँग बयान लिनु पर्यो,’ उनले भने, ‘गम्भीर विषयमा आयोग चुक्दा त्यसले राम्रो सन्देश जाँदैन । आयोगकै भूमिकामा प्रश्न उठ्छ ।’ जागिरे मनस्थिति हाबी हुँदा आयोगका पदाधिकारी र कर्मचारीले आफ्नो कर्तव्य एवं जिम्मेवारी बिर्सिने गरेको न्यौपाने बताउँछन् ।
राज्यका निकायले गरेको गल्तीमा चासो नदिँदा आयोगप्रतिको जनविश्वास घट्ने उनको भनाइ छ । ‘प्रहरीले गोली चलाएको भएमा तत्काल छानबिन एवं अनुुसन्धान हुनुपर्छ । त्यसले ठूलो अर्थ राख्छ । नत्र आयोगमाथिको विश्वसनीयता गुम्छ । संस्था निष्प्रभावी भएर आफ्नो औचित्य गुमाउँछ,’ न्यौपानेले भने ।
विवादमा तानियो महेन्द्रनगर प्रहरी : काम देखाउन निहत्थामाथि गोली

























