कोशी प्रदेशसभा : भिजिट भिसा प्रकरणमा चर्काचर्की

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १५:५८

विराटनगर । कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणका विषयमा सांसदहरुबीच चर्काचर्की भएको छ ।

प्रदेशसभाको आज (बुधबार) को बैठकमा भिजिट भिसाको विषयलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग गर्दै चर्काचर्की भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोम्बु शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा रहेका कर्मचारी र निजी सचिवालयमा कार्यरत व्यक्तिहरूको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको दाबी गरे ।

गृहमन्त्रीका निकट सहयोगी तीर्थराज भट्टराईमाथि वैदेशिक रोजगारीको नाममा युवाहरुलाई ठगी गरेर पठाएको, भ्रष्टाचारमा संलग्न रहेको र अध्यागमन कार्यालयमा प्रभाव जमाउन खोजिएको उनको आरोप छ ।

भिजिट भिसाको नाममा लुट मच्चाउनेलाई संरक्षण दिने व्यक्ति गृहमन्त्री स्वयं भएको बताउँदै उनी नैतिक रूपमा गृहमन्त्रीको पदमा बस्न अयोग्य नभएको दाबी गरे ।

उनको भनाइको नेपाली कांग्रेसका सांसदले प्रतिवाद गरेका थिए । सांसद प्रदीप सुनुवारले गृहमन्त्रीको विषयलाई अतिरञ्जित गरेर संसदको मर्यादाविपरीत विरोध गरिएको आरोप लगाए ।

पत्रिकाले लेखेपछि मात्र कुनै पनि व्यक्ति दोषी सावित नहुने बताउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाइसकेको बताए । उनले भने, ‘संसदलाई स्टन्टबाजी गर्ने थलो बनाउन हुँदैन ।’

सम्बन्धित निकाय अनुसन्धानमा लागिसहेको उल्लेख गर्दै उनले भने, ‘व्यवस्थाको सम्मान गरौं । सत्ता हुँदा ठीक, नहुँदा बेठीक भन्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थामै वितृष्णा उत्पन्न गर्छ । मिडियाबाजी गरेर नकारात्मक प्रभाव पार्न हुँदैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.