
काठमाडौं । संसदमा उपस्थित नहुने गरेकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । उनी जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनाइएकी थिइन् ।
संसद बैठकमा लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो । संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ ।
सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङको पद रिक्त भएको घोषणा आज (बुधबार) बसेको छैटौं अधिवेशनको ११ औं बैठकमा गरेका हुन् ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ ।
गुरुङ विगतका बैठकहरूमा पनि अत्यन्त न्यून उपस्थित हुने सदस्यमध्ये पर्थिन्। पाँचौं अधिवेशनअन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी भएकी थिइन् । छैटौं अधिवेशनमा भने उनले कुनै बैठकमा पनि उपस्थिति जनाएकी छैनन् । सो अधिवेशनमा बुधबारसम्म ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाई गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए । गुरुङ पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ जना सांसद छन् ।

























