गृहमन्त्रीले राजीनामा नदिने, पत्रकार सम्मेलनमा गुनासो मात्रै

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १८:२६

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा बताएका छन् ।

भिजिट भिसा प्रकरणमा जोडिएपछि प्रतिपक्षी दलहरुले उनको राजीनामा माग गरिरहेका छन् । उनकै कारण हिजो र आज प्रतिनिधिसभाको बैठक अवरुद्ध पनि भयो ।

संसदमा बोल्न नपाएका गृहमन्त्री लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्यायको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन् ।

‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ गृहमन्त्री लेखकले भने, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’

उनले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताए ।

‘पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । ति माथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।’

गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीनजना माननीयले गरेको भन्दै त्यसअवधिमा परेका उजुरीमाथि अख्तियारले छानबिन गर्दा कुनै पनि गृहमन्त्रीले राजीनामा नदिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.